बाबुराम के.सी., पीएचडी (शिक्षा)
प्रिन्सिपल, महान् सिद्धार्थ हाईस्कुल, चावहिल, कुमारीगाल, काठमाडौं
सुविधाले सहजता दिन्छ, तर संघर्षले चरित्र, क्षमता र नेतृत्व निर्माण गर्छ।
आजका विद्यार्थीमा सही संस्कार र संघर्षशील सोचको विकास हुन सक्नु नै
राष्ट्रको भविष्य सुरक्षित गर्ने सबैभन्दा ठूलो दायित्व हो।
मानिसको जीवनमा विद्यार्थी अवस्था केवल परीक्षा उत्तीर्ण गर्ने समय मात्र होइन बरु सम्पूर्ण भविष्य निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण चरण हो। यही उमेरमा सिकेका बानी, सोच, अनुशासन, मूल्य र संस्कारले व्यक्तिको जीवनको दिशा निर्धारण गर्छ। त्यसैले प्राचीन कालदेखि नै विद्यार्थी जीवनलाई तपस्या, अनुशासन र चरित्र निर्माणको समय मानिएको थियो। आज पनि संसारका सफल व्यक्तिहरूको जीवन हेर्दा एउटा समान विशेषता भेटिन्छ। उनीहरूले विद्यार्थी अवस्थामै मेहनत, अनुशासन, समयको सदुपयोग र आत्मसंयमलाई जीवनको आधार बनाएका थिए।
तर आजको समाजमा एउटा गम्भीर प्रश्न उठिरहेको छ, किन धेरै विद्यार्थीहरू पढाइ, जिम्मेवारी, अनुशासन र आत्मविकासप्रति पहिलेजस्तो गम्भीर देखिँदैनन्? किन उनीहरू सजिलो बाटो खोज्न रुचाउँछन्रु किन असफलता सहन कठिन भइरहेको छरु किन मोबाइल, सामाजिक सञ्जाल र तत्काल मनोरञ्जनले उनीहरूको समय र ध्यान कब्जा गरिरहेको छरु यी प्रश्नहरूको उत्तर खोज्नु केवल विद्यार्थीको जिम्मेवारी होइन, यो अभिभावक, शिक्षक, विद्यालय, समाज र राष्ट्र सबैको साझा दायित्व हो।
सुविधा बढ्यो तर सहनशीलत घट्यो
आजको पुस्ताले विगतका पुस्ताको तुलनामा धेरै सुविधा पाएको छ। गुणस्तरीय विद्यालय, प्रविधि, इन्टरनेट, पुस्तक, यातायात, स्वास्थ्य सेवा र पारिवारिक सहयोग पहिलेभन्दा धेरै उपलब्ध छन्। यी सबै सकारात्मक उपलब्धि हुन्। तर सुविधा बढ्दै जाँदा एउटा चुनौती पनि देखिन थालेको छस त्यो हो संघर्ष गर्ने क्षमता कमजोर हुनु।
नेपाली चलचित्र पूर्णबहादुरको सारंगीले दिएको सन्देश झैं धेरै अभिभावक आफ्ना सन्तानले आफूले भोगेका दुःख भोग्न नपरोस् भन्ने चाहनुहुन्छ। यो स्वाभाविक भावना हो। तर कहिलेकाहीँ यही मायाले अत्यधिक संरक्षणको रूप लिन्छ। कतिपय घरमा उमेर पुगेका छोराछोरीलाई आफ्नै कोठा मिलाउन, भाँडा उठाउन, सानो घरेलु काम गर्न वा आफ्ना निर्णयको जिम्मेवारी लिनसमेत दिइँदैन। आवश्यकभन्दा बढी सुविधा उपलब्ध गराइन्छ र हरेक समस्या अभिभावकले नै समाधान गरिदिन्छन्।
यसरी हुर्किएको बालबालिकाले जीवनका वास्तविक चुनौतीसँग सामना गर्ने अभ्यास कम पाउँछ। जब वास्तविक प्रतिस्पर्धा, असफलता वा कठिनाइ आउँछ, उसलाई मानसिक रूपमा स्वीकार गर्न गाह्रो हुन्छ। त्यसैले माया आवश्यक भए पनि मायासँगै जिम्मेवारी, आत्मनिर्भरता र श्रमको संस्कार पनि दिनुपर्छ।
प्रकृतिले हामीलाई एउटा सुन्दर शिक्षा दिन्छ, आफैले प्राकृतरुपमा अण्डाको खवटा फुटाएर निस्कनुपर्ने चल्लालाई हामी आफैले उक्त खवटा फुटाएर निकालिदियौं भने उसको एउटा जिवन समाप्त हुने निश्चित भए झैं कुनै बिरुवालाई पनि आवश्यकभन्दा धेरै मलजल गरियो भने त्यसको वृद्धि असन्तुलित हुन सक्छ र अपेक्षाअनुसार फल नलाग्न सक्छ। त्यसैगरी बालबालिकालाई आवश्यकभन्दा बढी सुविधा मात्र दिँदा उनीहरूको आत्मनिर्भरता, संघर्षशीलता र निर्णय क्षमता कमजोर हुन सक्छ।
भोकको अर्थ केवल खानाको अभाव होइन
हामी कतै भन्ने गछौैं आजकालका स्कुल कलेजका केटाकेटीहरुले भोक के हो त्यसको महसुस नै छ्रैन, अर्थात अभिभावकहरु समेत ले भन्ने गर्छन्ः ूमेरा अर्थात हाम्रा छोराछोरीहरु खाना खान मनै गर्दैनन्, भोकको अनुभव नै गरेका छैनन्।ू यसको अर्थ उनीहरूलाई खानाको अभाव छ भन्ने होइन। यहाँ भोक भन्नाले लक्ष्य प्राप्त गर्ने चाहना, केही सिक्ने उत्साह, आफूलाई प्रमाणित गर्ने इच्छा र संघर्ष गरेर अघि बढ्ने प्रेरणालाई जनाइन्छस जुन उनिहरुले सोच्न र कल्पना गर्न नसकेको अवस्थालाई लिईन्छ।
जब हरेक चाहना तत्काल पूरा हुन्छ, तब प्रतीक्षा गर्ने बानी हराउन सक्छ। जब हरेक आवश्यकता अरूले पूरा गरिदिन्छन्, तब आत्मनिर्भर बन्ने प्रेरणा कम हुन सक्छ। तर सत्यता र वास्तविक जीवनले भने सिकाउँछ यो सिकाउँछ “सबै कुरा सजिलै प्राप्त हुँदैन। सफलता मेहनत, धैर्य, अनुशासन, निरन्तरता र अनवरत साधनाबाट मात्रै प्राप्त हुन्छ।
विद्यार्थी किन गम्मीर र संवेदनशील छ त ?
विद्यार्थी जीवनमा गरिने लगानीको प्रतिफल सम्पूर्ण जीवनभर प्राप्त हुन्छ। यही समय हो जब ज्ञान, सीप, चरित्र, नेतृत्व, सोच र व्यक्तित्व विकास हुन्छ। आज गम्भीर भएर अध्ययन गर्ने विद्यार्थी भोलि सक्षम चिकित्सक, इन्जिनियर, वैज्ञानिक, शिक्षक, उद्यमी, प्रशासक, कलाकार वा जिम्मेवार नागरिक बन्छ।
सिरियस हुनु भनेको दिनरात किताब मात्र पढ्नु होइन। यसको अर्थ आफ्नो लक्ष्य बुझ्नु, समयको मूल्य चिन्नु, कर्तव्य पूरा गर्नु, निरन्तर सिकिरहनु, आफ्नो व्यवहार सुधार्नु र आफ्नो क्षमताको विकास गर्नु हो।
आजको विश्व प्रतिस्पर्धात्मक छ। केवल डिग्रीले मात्र सफलता सुनिश्चित गर्दैन। रोजगारदाताले ज्ञानसँगै अनुशासन, इमानदारी, समस्या समाधान गर्ने क्षमता, सञ्चार सीप, नेतृत्व र सकारात्मक सोच पनि खोज्छन्। यी गुण विद्यार्थी अवस्थामै विकास हुन्छन्।
आजका पुस्ताले कम्फाेर्ट जाेन किन खोजिरहेका छन् त ? यस किसिमको समस्याहुनुमा एउटै मात्र कारण छैन। विभिन्न कारणले मिलेर यस्तो अवस्था सिर्जना भएको छ।
पहिलो कारण, डिजिटल प्रविधिको अत्यधिक प्रयोग। मोबाइल, भिडियो गेम, सामाजिक सञ्जाल र छोटा भिडियोहरू ध्यान केन्द्रित गर्ने क्षमता घटाइरहेका छन्।
दोस्रो कारण, परीक्षामुखी शिक्षा, जसले धेरै विद्यार्थीको लक्ष्य केवल अंक ल्याउनुमा सीमित हुन्छ। ज्ञान, अनुसन्धान, सिर्जनशीलता र व्यवहारिक सीपमा पर्याप्त ध्यान पुग्दैन।
तेस्रो कारण, परिवारमा संवादको कमी, जसले एउटै घरमा बस्ने सदस्यहरूबीच पनि मोबाइलले प्रत्यक्ष संवाद घटाएको छ।
चौथो कारण, श्रमको सम्मान घट्दै जानु जसले केही युवामा सफलता भनेको कम मेहनतमा धेरै उपलब्धि हासिल गर्नु हो भन्ने भ्रम बढेको छ।
पाँचौँ कारण, समाजमा देखिने तत्काल सफलता र भौतिक सम्पन्नताको प्रभाव जसले सामाजिक सञ्जालले अरूको सफलता मात्र देखाउँछस त्यसको पछाडिको वर्षौंको मेहनत भने देखाउँदैन।
शिक्षामा आध्यात्मिक मूल्यको स्थान
आजको शिक्षाले विज्ञान, प्रविधि र व्यावसायिक सीपमा ठूलो योगदान दिएको छ। तर चरित्र निर्माण, आत्मसंयम, करुणा, कृतज्ञता, नैतिकता र आत्मचिन्तनजस्ता विषयहरूमा अपेक्षाअनुसार ध्यान दिन चुनौती रहेको अनुभव आजको शिक्षा र जनमानसले महशुस गर्नु जरुरी छ ।
यहाँ आध्यात्मिकता भन्नाले कुनै धर्म विशेषको प्रचार होइन बरु यसको अर्थ हो आफूलाई चिन्ने क्षमता, सही र गलत छुट्याउने विवेक, आत्मअनुशासन, इमानदारी, सहिष्णुता, सेवाभाव र जीवनप्रतिको उत्तरदायित्व हो भन्ने बुझ्नुपर्दछ। जसरी यस ब्रम्हाण्डमा प्रकृतिले कुनै जात, धर्म, सानो, ठूलो, धनी र गरिव चिन्दैन त्यसैगरी आध्यात्म केवल एउटा प्राकृतिको प्राकृत र सरल नियम् मात्रै हो, जुन साह्रै सरल छ । नबुझेकै कारणले मात्र यसलाई जटिल र भयवाह तुल्याइन्छ ।
विद्यालय देखि घर सम्म योग, ध्यान, नैतिक शिक्षा, सामुदायिक सेवा, वातावरण संरक्षण, स्वयंसेवा र चरित्र निर्माणका कार्यक्रमहरूलाई नियमित रूपमा समावेश गर्न सकियो भने बालबालिकाहरुको समग्र विकासमा सकारात्मक योगदान पुग्न सक्छ। र उनिहरु प्राकृत बन्नेछन्।
संस्कार कसरी विकास गर्ने ?
संस्कार भाषण, उपदेश वा संवादबाट मात्र निर्माण हुँदैनस यो निरन्तर अभ्यास, अनुभव र व्यवहारबाट विकसित हुने जीवनशैली हो। बालबालिकाले के सुन्छन् भन्दा पनि उनीहरूले घर, विद्यालय र समाजमा के देख्छन् र के अनुभव गर्छन् भन्ने कुराले उनीहरूको संस्कार निर्माणमा ठूलो प्रभाव पार्छ। त्यसैले असल संस्कार सिकाउने सबैभन्दा प्रभावकारी माध्यम भनेको स्वयं उदाहरण बन्नु हो।
संस्कारको विकास साना–साना दैनिक अभ्यासबाट सुरु हुन्छ। समयको सम्मान गर्ने, सत्य बोल्ने, ठूलालाई आदर र सानालाई माया गर्ने, श्रमको सम्मान गर्ने, आफ्नो जिम्मेवारी पूरा गर्ने, अरूको भावना बुझ्ने, सहयोग गर्ने र गल्तीबाट सिक्ने बानीहरूले व्यक्तिको चरित्र निर्माण गर्छन्।
बालबालिकालाई केवल राम्रो बन्नुपर्छ भनेर सिकाउनु पर्याप्त हुँदैनस उनीहरूलाई जिम्मेवारी दिने, निर्णय लिन अवसर प्रदान गर्ने, चुनौती सामना गर्न प्रेरित गर्ने र मेहनतको मूल्य बुझाउने वातावरण सिर्जना गर्नुपर्छ। सुविधा मात्र प्रदान गर्दा निर्भरता बढ्न सक्छ, तर उचित मार्गदर्शनसहितको संघर्षले आत्मविश्वास, धैर्यता र आत्मनिर्भरता विकास गर्छ।
परिवार संस्कारको पहिलो केन्द्र हो भने विद्यालय यसको विस्तार गर्ने माध्यम हो। अभिभावक, शिक्षक र समाजले एउटै मूल्य र आदर्शका साथ बालबालिकालाई मार्गदर्शन गर्न सकेमा उनीहरूमा नैतिकता, अनुशासन, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना बलियो हुन्छ। संस्कार कुनै एक दिनमा सिकाइने विषय होइन, यो जीवनभरको अभ्यास एवं साधना नै हो। असल विचार, सकारात्मक व्यवहार र निरन्तर प्रयासबाट निर्माण भएको संस्कारले नै व्यक्तिलाई सफल मात्र होइन, जिम्मेवार, नैतिक र समाजका लागि उपयोगी नागरिक बनाउँछ।
अभिभावकको भूमिका
संस्कार, संघर्ष र सफलताको पहिलो आधारका रुपमा बालबालिकाको पहिलो पाठशाला घर हो भने पहिलो गुरु अभिभावक नै हुन्। विद्यालयले ज्ञान, सीप र अवसर प्रदान गर्छ, तर बालबालिकाको सोच, चरित्र, संस्कार र जीवनप्रतिको दृष्टिकोणको वास्तविक आधार परिवारबाटै निर्माण हुन्छ। त्यसैले अभिभावकले आफ्ना सन्तानलाई दिएको शिक्षा केवल शब्दमा होइन, आफ्नै व्यवहार र जीवनशैलीबाट प्रमाणित गर्न सक्नुपर्छ।
अभिभावक स्वयं समयको मूल्य बुझ्ने, इमानदार बन्ने, श्रमको सम्मान गर्ने, सत्य बोल्ने, अनुशासित जीवन जिउने र सकारात्मक सोच राख्ने उदाहरण बन्नुपर्छ। किनकि बालबालिकाले अभिभावकका उपदेशभन्दा उनीहरूको दैनिक व्यवहार बढी सिक्छन्। घरमा देखिने संस्कार, जिम्मेवारीबोध, सहनशीलता र नैतिक मूल्यहरूले नै भविष्यमा उनीहरू कस्तो व्यक्ति बन्नेछन् भन्ने निर्धारण गर्छ।
आजको सुविधा र प्रविधिको युगमा अभिभावकको भूमिका झन् चुनौतीपूर्ण बनेको छ। बालबालिकालाई हरेक कठिनाइबाट जोगाउनु मात्र अभिभावकत्व होइन, बरु उनीहरूलाई चुनौती सामना गर्न, मेहनतको मूल्य बुझ्न, असफलताबाट सिक्न र आत्मनिर्भर बन्न सक्षम बनाउनु वास्तविक अभिभावकीय जिम्मेवारी हो। प्रविधिको सही प्रयोग, समयको सदुपयोग, सामाजिक सम्बन्धको महत्व र वास्तविक जीवनका संघर्षसँग परिचित गराउनु आजको आवश्यकता हो।
यस सन्दर्भमा जापानकी एक आमाको प्रेरणादायी उदाहरण निकै सान्दर्भिक छ। आफ्ना छोराछोरीको भविष्य निर्माणका लागि उनले मोबाइल र अनावश्यक मनोरञ्जनभन्दा अध्ययन, अनुशासन र मेहनतलाई प्राथमिकता दिन प्रेरित गरिन्। छोराछोरीलाई मात्र पढ्न भनिनन्, बरु उनी आफैं पनि उनीहरूसँगै बसेर पुस्तक लिएर पढ्ने वातावरण सिर्जना गरिन्। उनको विश्वास थियो—बालबालिकालाई केवल निर्देशन दिएर होइन, आफैं उदाहरण बनेर सही बाटो देखाउनुपर्छ। यही निरन्तर प्रयास, धैर्यता र संस्कारले बालबालिकालाई आफ्नो लक्ष्यप्रति केन्द्रित हुन प्रेरित गर्छ।
त्यसैले अभिभावकले बालबालिकालाई घरका साना काममा सहभागी गराउने, पैसाको मूल्य बुझाउने, धन्यवाद र क्षमा माग्ने संस्कार सिकाउने, निर्णय लिन अवसर दिने तथा जिम्मेवारी पूरा गर्न प्रेरित गर्ने अभ्यास गर्नुपर्छ। यस्ता साना तर महत्वपूर्ण अभ्यासहरूले उनीहरूमा आत्मविश्वास, अनुशासन, नेतृत्व क्षमता र आत्मनिर्भरता विकास गर्छन्।
असल अभिभावकको उद्देश्य केवल आफ्नो सन्तानलाई सफल बनाउनु मात्र होइन, उनीहरूलाई असल मानिस, जिम्मेवार नागरिक र समाजप्रति उत्तरदायी व्यक्तित्वका रूपमा विकास गर्नु हो। संस्कारी, सक्षम र राष्ट्र निर्माणमा योगदान दिन सक्ने पुस्ता तयार गर्न परिवार, विद्यालय र समाजबीचको सहकार्य अत्यन्त आवश्यक छ।
शिक्षकको भूमिका
शिक्षक केवल विषय पढाउने व्यक्ति मात्र होइनन्, विद्यार्थीको सोच, चरित्र, संस्कार र भविष्य निर्माण गर्ने मार्गदर्शक पनि हुन्। शिक्षकले विद्यार्थीलाई प्रश्न गर्न, अनुसन्धान गर्न, सिर्जनशील बन्न, असफलताबाट सिक्न र संघर्षलाई सफलताको आधारका रूपमा लिन प्रेरित गर्नुपर्छ।
अब्राहम लिंकनले आफ्नो छोराको शिक्षकलाई दिएको सन्देशमा जस्तै, विद्यार्थीलाई केवल जित्न मात्र होइन, हारलाई पनि स्वीकार गर्न, इमानदारी र मेहनतको मूल्य बुझ्न, सत्यको पक्षमा उभिन, आत्मनिर्भर बन्न र अरूको सम्मान गर्न सिकाउनु आवश्यक छ। जीवनमा सबै मानिस असल हुँदैनन्, तर कठिन परिस्थितिमा पनि सही बाटो रोज्ने साहस, धैर्यता र नैतिकता विकास गराउनु शिक्षाको महत्वपूर्ण उद्देश्य हो।
आजको परिवर्तनशील युगमा शिक्षकले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता, समस्या समाधान गर्ने सीप, सहकार्यको भावना र सकारात्मक सोचको विकास गराउनुपर्छ। राम्रो शिक्षकले विद्यार्थीलाई केवल परीक्षामा सफल बनाउने होइन, जीवनका चुनौती सामना गर्न सक्ने सक्षम, जिम्मेवार र संस्कारी नागरिक बनाउने काम गर्छन्।
एउटा प्रेरणादायी शिक्षकले विद्यार्थीको प्रतिभा पहिचान गरी उसको सम्भावनालाई उजागर गर्न सक्छन्। शिक्षकको व्यवहार, विचार र संस्कारले पुस्तौँसम्म प्रभाव पार्छ। त्यसैले मूल्यमा आधारित शिक्षा, नैतिक मार्गदर्शन र सकारात्मक प्रेरणामार्फत शिक्षकले समाज र राष्ट्रको उज्ज्वल भविष्य निर्माणमा अमूल्य योगदान पुर्याउँछन्।
विद्यालयको भूमिका
विद्यालय र केजेले केवल पाठ्यक्रम पुरा गर्ने संस्था भएर मात्र पुग्दैन । जीवन सीप, नेतृत्व विकास, खेलकुद, कला, साहित्य, वातावरण संरक्षण, सामाजिक सेवा, उद्यमशिलता, सार्वजनिक बोलाइ तथा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुलाई पनि समान प्राथमिकता दिनुपर्छ ।
साथै, विद्यार्थीले अनुशासित, जिम्मेवार, सृजनशील र नैतिक भई अध्ययनसँगै सामाजिक सेवामा सक्रिया सहभागिता जनाउनुपर्छ । आजका विद्यार्थी नै भोलिका सक्षम नागरिक र राष्ट्रका नेतृत्वकर्ता भएकाले ज्ञानसँगै चारित्र, सीप र सामाजिक उत्तरदायित्वको विकासमा पनि जोड दिन आवश्यक छ ।
समाजको भूमिका
समाजले बालबालिकालाई सुरक्षित, समावेशी र सकारात्मक वातावरण प्रदान गर्नुपर्छ । श्रम गर्ने प्रत्येक व्यक्तिको सम्मान गर्ने संस्कारको विकास गर्नुपर्छ । सफलताको मापन केवल धनले मात्र नभई चारित्र, योगदान, नैतिकता र सामाजिक उत्तरदायित्वका आधारमा गर्नुपर्छ ।
बालबालिकालाई असल संस्कार, अनुशासन, सहकार्य, विविधताको सम्मान, सामाजिक सेवा तथा आध्यात्मिक क्रियाकलापमा सहभागी हुन प्रेरित गर्दै सकारात्मक र आदर्श व्यक्तित्वलाई उदाहरणका रुपमा अगाडि ल्याउन आवश्यक छ ।
विद्यार्थीले आजदेखि सुरु गर्न सक्ने केही असल बानीहरू
१. दैनिक निश्चित समय तालिकाका आधारमा अध्ययन लगायत सबै कार्यहरु गर्ने।
२. मोबाइल र सामाजिक सञ्जालको लत प्रति सचेत हुने र समय सीमित गर्ने।
३. प्रत्येक दिन नयाँ कुरा सिक्ने।
४. घरको काममा अभिभावकलाई सहयोग गर्ने।
५. नियमित व्यायाम, योग वा ध्यान गर्ने।
६. गुरु, अभिभावक र ज्येष्ठहरूको सम्मान गर्ने।
७. असफलतालाई हार होइन, सिकाइको अवसर मान्ने।
८. आफ्नो लक्ष्य प्रति संधै सचेत हुने र लेखेर त्यसअनुसार योजना बनाउने।
९. राम्रो साथीको संगत रोज्ने।
१०. प्रत्येक दिन आफूलाई अघिल्लो दिनभन्दा अलिकति राम्रो बनाउने प्रयास गर्ने।
११. सुविधा भन्दा संघर्षतर्फ आफूलाई व्यवस्थापन गर्ने।
गम्भीर विद्यार्थीबाट कसलाई के फाइदा
जब विद्यार्थी जिम्मेवार बन्छ, सबैभन्दा पहिले उसैलाई फाइदा हुन्छ। उसको आत्मविश्वास बढ्छ, ज्ञान बढ्छ, अवसर बढ्छ र जीवनमा सफल हुने सम्भावना बलियो हुन्छ।
अभिभावकलाई सन्तानप्रति गर्व हुन्छ। शिक्षकलाई आफ्नो मेहनत सफल भएको अनुभूति हुन्छ। विद्यालयको प्रतिष्ठा बढ्छ। समाजले जिम्मेवार नागरिक पाउँछ। राष्ट्रले दक्ष, इमानदार र उत्पादनशील जनशक्ति प्राप्त गर्छ।
राष्ट्र निर्माण कुनै सरकारबाट मात्र सम्भव हुँदैन। राष्ट्र निर्माण विद्यालयमा, परिवारमा र विद्यार्थीको सोचमा सुरु हुन्छ। आजको एउटा अनुशासित विद्यार्थी नै भोलिको सफल राष्ट्रनिर्माता हो।
निष्कर्ष
हामीले आफ्ना सन्तानलाई सुविधा दिनुपर्छ, तर सुविधासँगै संघर्ष गर्ने क्षमता पनि दिनुपर्छ। माया दिनुपर्छ, तर जिम्मेवारी पनि सिकाउनुपर्छ। आधुनिक शिक्षा दिनुपर्छ, तर चरित्र, नैतिकता, आत्मअनुशासन र मानवीय मूल्यलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ। सफलता केवल अंक, डिग्री वा सम्पत्तिले मापन हुँदैनस सफल जीवन भनेको ज्ञान, संस्कार, इमानदारी, श्रम, सेवा र उत्तरदायित्वको समन्वय हो।
आज विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय, समाज र राष्ट्र सबैले एउटै प्रश्न आफैँसँग सोध्नुपर्ने समय आएको छ त्यो हो हामी केवल सफल व्यक्ति तयार गर्दैछौँ कि जिम्मेवार, संस्कारी र मानवीय नागरिक पनि निर्माण गर्दैछौँ।
यदि हामीले सुविधा र संस्कार, प्रविधि र नैतिकता, ज्ञान र चरित्र, अधिकार र जिम्मेवारीबीच सन्तुलन कायम गर्न सक्यौँ भने आजका विद्यार्थी केवल परीक्षामा मात्र होइन, जीवनमा पनि सफल हुनेछन्। त्यही सफलता समृद्ध परिवार, सशक्त समाज र उज्ज्वल नेपालको आधार बन्नेछ।