काठमाडौं,शङ्खरापुर नगरपालिका–९ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको आयोजनामा नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरूबीच अन्तर सामुदायिक विद्यालयस्तरीय हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूमा सुन्दर, स्पष्ट, शुद्ध तथा व्यवस्थित हस्तलेखनको विकास गराउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक तहका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तुलसी नारायण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा शङ्खरापुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष सहदेव श्रेष्ठको प्रमुख अतिथ्यता,शङ्खरापुर नगरपालिकाको शिक्षा शाखाका वरिष्ठ शाखा अधिकृत प्रमिला पुडासैनीको विशेष अतिथ्यता रहेको थियो। साथै नगरपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयबाट पाल्नुभएका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा शिक्षकहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमको संयोजन श्री राष्ट्रिय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक बालकृष्ण श्रेष्ठले गर्नुभएको थियो।प्रतियोगितामा विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरूले आ–आफ्नो उत्कृष्ट हस्तलेखन प्रस्तुत गरेका थिए। निर्णायक मण्डलबाट गरिएको मूल्याङ्कनका आधारमा प्रतियोगितामा माध्यमिक तह तर्फ प्रथम: रेश्मिता मगर -भगवती माध्यमिक विद्यालय,द्वितीय: खुशी तामाङ -भाग्योदय माध्यमिक विद्यालय,तृतीय: प्रिया बस्नेत -राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूले नतिजा हासिल गरेका हुन्। निम्न माध्यमिक तह तर्फ प्रथम: सुप्रिया कार्की- राष्ट्रिय माध्यमिक विद्यालय,द्वितीय: देविका लिम्बु -भाग्योदय माध्यमिक विद्यालय,तृतीय: कृष्ण के.सी.-भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरूले नतिजा हासिल गरेका हुन् भने प्राथमिक तह अन्तर्गत प्रथम: अनमोल थापा- भगवती माध्यमिक विद्यालय,द्वितीय: संचिता थिङ -कालिकाशरण माध्यमिक विद्यालय,तृतीय: अविनाश स्याङ्बो -वनदेवी आधारभूत विद्यालयका विद्यार्थीले नतिजा हासिल गरेका हुन्।

कार्यक्रममा उपस्थित अतिथि तथा वक्ताहरूले यस्ता प्रतियोगितात्मक तथा सिर्जनात्मक कार्यक्रमहरूले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभएको थियो। हस्तलेखन केवल अक्षर लेख्ने माध्यम मात्र नभई व्यक्तिको अनुशासन, धैर्यता, सिर्जनशीलता र प्रस्तुतिकरण क्षमतासँग समेत जोडिएको विषय भएकाले विद्यार्थीहरूमा यसको निरन्तर अभ्यास र विकास आवश्यक रहेकोमा जोड दिइएको थियो।

कार्यक्रमले शङ्खरापुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूबीच आपसी सम्बन्ध, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न समेत महत्वपूर्ण योगदान पुर्याएको सहभागी शिक्षकहरूले बताएका छन्।

विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको एकै थलोमा सहभागिताले अनुभव आदानप्रदानका साथै शैक्षिक गतिविधिहरूलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको जनाइएको छ। प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालयलाई प्रमाणपत्र वितरण गरिएको थियो भने उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई विशेष बधाई तथा सम्मान र नगद पुरस्कार समेतको व्यवस्थापन गरिएको राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन कारञ्जितले शिक्षा पोष्ट लाई बताउनुभएको छ। यस्ता रचनात्मक कार्यक्रमहरूले विद्यार्थीलाई क्षमता विकासमा मद्दत पुग्ने जनाउँदै यस प्रतियोगितामा आफ्ना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक अनुप श्रेष्ठले शिक्षा पोष्टलाई जानकारी दिनुभएको छ।