काठमाडौं,सातवटै प्रदेशमा ‘शिक्षा संवाद’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। साउन ३० गते विराटनगरबाट सुरु भएको अभियान क्रमश : साउन ३१ गते जनकपुरमा, भदौ १ गते हेटौडा, भदौ २ गते पोखरा, भदौ ३ गते बुटवल, भदौ ४ गते सुर्खेत र भदौ ५ गते धनगढी पुगेर समापन भएको हो। समापन कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल को उपस्थिति रहेको थियो।

शिक्षा संवाद कार्यक्रमको आयोजना शिक्षा तथा खेलकुद मन्त्रालयले गरेको थियो भने त्यस कार्यक्रमको सहजीकरण प्रधानध्यापक संघ नेपाल (पान) ले गरेको थियो। कार्यक्रममा शिक्षक, कर्मचारी, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक, शिक्षाविद् तथा सम्पूर्ण सरोकारवालासँग प्रत्यक्ष संवाद गरी सुझाव संकलन गरिएको थियो।

कार्यक्रमको सहजीकरण गर्ने पानले सातवटै प्रदेशबाट प्राप्त सुझाव, विचार, अनुभव र आवाजलाई सरकारले समेट्दै शीघ्र नयाँ शिक्षा ऐन जारी हुने हुने र सबै पक्षको साझा प्रयास, संवाद र सहकार्यबाट नेपालको शिक्षा क्षेत्रलाई दीर्घकालसम्म मार्गदर्शन गर्ने उत्कृष्ट, समावेशी, न्यायपूर्ण र समयसापेक्ष शिक्षा ऐन निर्माण हुने समेत पानले अपेक्षा राखेको बताएको छ।

साथै PAN लाई गैर–राजनीतिक, गैर–युनियन तथा व्यावसायिक Professional organization का रूपमा थप सुदृढ गर्दै प्रधानाध्यापक, शिक्षक, कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समिति (SMC) लगायत सम्पूर्ण शैक्षिक सरोकारवालाको पेशागत क्षमता विकास, विद्यालय सुधार र समग्र शिक्षा रूपान्तरणका लागि निरन्तर सहकार्य, संवाद, र पेशागत Development मा लागीरहने पानको भनाइ छ।

नेपाल शिक्षक महासङ्घले भने आफूहरूलाई नबोलाइएको र उक्त कार्यक्रममा सहभागी नगराएकोप्रति असन्तुष्टि व्यक्त गरेको छ। शिक्षा संवादको क्रममा बुटवल र सुर्खेतमा सहभागी हुनुभएका वरिष्ठ शिक्षा पत्रकार प्रकृति अधिकारी आफ्नो फेसबुक पेजमा लेख्नुहुन्छ, पाठ्यक्रममा कस्तो सुधार गर्नुपर्ने ? समस्या कहाँ छ ? पाठ्यपुस्तकमा गर्नुपर्ने सुधार केकस्ता छन् ? सिकाइमा सुधार कसरी गर्न सकिएला ? नतिजामा सुधार गर्नुपर्ने उपाय के होला ? कक्षाकोठा भित्रको सुधारको उपाय के होला ? भन्ने जस्ता कुरा खासै सुन्न पाइएन।सुन्न पाएको कुरा- स्थायी गर्नुपर्यो, सरुवा सजिलो बनाइ दिनुपर्यो, तलब बढाइ दिनुपर्यो आदि आदि। उहाँको अनुसार शिक्षकका माग र मुद्दामा मात्र केन्द्रित भयो। विद्यार्थी,अभिभावक र सरोकारवाला अन्य पक्षका विषयहरू केन्द्रित नभएको उहाँको भनाइ छ।