काठमाडौं – संस्थागत विद्यालय सञ्चालकहरूको मञ्च (फिजम) को पाँचौं अधिवेशन सम्पन्न भएको छ। उक्त सम्मेलनमा सङ्घीय संसद राज्यव्यवस्था तथा सुशासन समितिका सचिव तथा नेपाल सरकारका सह-सचिव विशाल सापकोटाको प्रमुख उपस्थिति रहेको थियो।

कोटेश्वरको, नरेफाँटमा आयोजित फिजमको पाँचौं अधिवेशनले सुनिल केसीलाई अध्यक्षमा सर्वसम्मत निर्विरोध निर्वाचित गरेको हो। त्यसैगरी क्रमश: नयाँ कार्यसमितिको उपाध्यक्षमा जया ढकाल, सचिवमा विष्णु ओली, सह–सचिवमा झबिन्द्र खड्का, कोषाध्यक्षमा चक्रमणि राई र सह–कोषाध्यक्षमा गणेश भट्टराई चयन हुनुभएको छ। सदस्यहरूमा क्रमश: बिपिन कर्ण, रनिस भट्टराई र राजु रिमाल चयन हुनुभएको हो ।

अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि केसीले आफूलाई विश्वास गरेर गरिमामय जिम्मेवारी प्रदान गरेकोमा अध्यक्षमण्डल, निर्वाचन मण्डल, निवर्तमान कार्यसमिति, सदस्य विद्यालय तथा सहयोगी हातहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको थियो।

साथै उहाँले नयाँ कार्यसमितिलाई संस्थागत विद्यालयका सञ्चालकहरूको हकहित, शैक्षिक क्षेत्रको विकास तथा संगठनलाई थप प्रभावकारी बनाउन सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
