ललितपुर । ललितपुरको ग्वार्कोस्थित एभिएस विद्यालयको प्राङ्गणमा ‘ब्लु बर्ड सुपर लिग’को उद्घाटन गरिएको छ। पूर्वसञ्चारमन्त्री जगदीश पोखरेलले एक समारोहबीच लिगको उद्घाटन गरेका हुन्।
‘ब्लु बर्ड सुपर लिग’मा क्रिकेट, फुटबल, भलिबल र बास्केटबल गरी चार खेल समावेश गरिएको एभिएस विद्यालयका प्रिन्सिपल दीपकराज जोशीले जानकारी दिए।
जोशीका अनुसार ललितपुर जिल्लाभरिका विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्। प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीले निर्धारित फाराम भर्नुपर्नेछ। “विद्यार्थीको खेल प्रतिभा पहिचान गर्ने र उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले सुपर लिग आयोजना गरिएको हो,” जोशीले बताए।
उनका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट सम्बन्धित खेलका क्याप्टेनले गर्ने व्यवस्था गरिएको छ। यसले विद्यार्थीलाई प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर मिल्ने उनको भनाइ छ।
उद्घाटन समारोहमा विभिन्न खेलका क्याप्टेनहरूको नामसमेत सार्वजनिक गरिएको थियो। प्रतियोगिता आयोजक समितिका संयोजक जितेन्द्र श्रेष्ठका अनुसार प्रत्येक खेलका क्याप्टेनले आफ्नो टोलीका खेलाडी छनोट गर्नेछन्। छनोट भएका खेलाडीको जर्सीमा उल्लेख गरिने नाम तथा विवरणसमेत आयोजकलाई उपलब्ध गराउनुपर्नेछ।
“क्याप्टेनलाई खेलाडी छनोटको जिम्मेवारी दिइएको छ। छनोट भएका खेलाडीको जर्सीमा के नाम वा विवरण राख्ने भन्ने विषयमा पनि क्याप्टेनले आयोजकलाई जानकारी गराउनुपर्नेछ,” संयोजक श्रेष्ठले बताए।
प्रतियोगिताको प्राविधिक तयारी एक साताभित्र पूरा गरी आगामी शुक्रबारदेखि खेल सञ्चालन गर्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिए। प्रतियोगिताको ग्रान्ड फाइनल आगामी मंसिर महिनामा आयोजना गरिने उनले बताए।
समारोहमा ब्लु बर्ड कलेजका प्रिन्सिपल बीएस क्षेत्रीले विद्यार्थीको रुचि, क्षमता र समयको मागअनुसार कलेजले विभिन्न कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको बताए। ब्लु बर्ड कलेजले सुरुआत गरेका कतिपय कार्यक्रमलाई अन्य शैक्षिक संस्थाले समेत अनुकरण गर्दै आएको उल्लेख गर्दै उनले त्यसप्रति आफूहरू गौरवान्वित रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि पूर्वसञ्चारमन्त्री जगदीश पोखरेलले युवा देशको शक्ति भएको बताए। युवाको पहिचान र सफलतासँग देशको पहिचानसमेत जोडिने उल्लेख गर्दै उनले विश्वका चर्चित खेलाडीहरूको उदाहरण प्रस्तुत गरे। खेलकुदले युवाको क्षमता, अनुशासन र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
‘ब्लु बर्ड सुपर लिग’मार्फत विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै ललितपुर क्षेत्रका प्रतिभाशाली खेलाडी पहिचान र विकासमा सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको छ।